Sabasta Entertainment Pvt. Ltd

दयाराम दाहाल

नेपाली चलचित्रको इतिहासलाई खोतल्ने हो भने यसको जन्म विशुद्ध रुपमा पञ्चायती ब्यवस्थाको पक्षपोषण र प्रचार प्रचार गर्ने हेतुले राजा महेन्द्रले शाही नेपाल चलचित्र संस्थानको स्थापना गरेर विधिवत रुपमा शुरु गरेको देखिन्छ । तत्कालिन समयमा संचार जगत प्राय शुन्य रहेको अवस्थामा सर्वसाधरणमा पुग्न सक्ने सजिलो माध्यम केवल रेडयो र चलचित्र मात्रै रहेको कुरा सबैमा बिदितै छ । तर जे जस्तो उद्येष्यले अथवा जे जस्तो प्रचार गर्न खोजेर स्थापना भएको भए पनि शाही नेपाल चलचित्र संस्थानको स्थापना पश्चात नेपालमा नेपाली चलचित्र निर्माणले आफ्नो धिमा गति लिएको कुरालाई नकार्न सकिदैन । तत पश्चात विस्तारै निजी क्षेत्रबाट पनि चलचित्र निर्माणमा सक्रियता हुन थालेको कुरा हाम्रो इतिहास नै हो । जे जस्तो गतिमा र अवस्थामा भए पनि नेपाली चलचित्रले गति पक्डन शुरु गरेको त्यो शैशवकाललाई हामीले सम्मान गर्नै पर्दछ । आज हामी नेपाली चलचित्र उद्योगको जुन धरातलमा उभिएका छौं अथवा जुन अवस्थामा आफ्नो हैसिएत प्रर्दशन गरिरहेका छौं यो अवस्था र हैसिएत निर्माणको लागि तत्कालिन शाही नेपाल चलचित्र संस्थानको विशेष महत्व र भूमिका रहेको कुरा नकार्न सकिंदैन ।तत्कालिन परिवेशमा चलचित्र घरको पर्दामा नेपाली कलाकारहरुले नेपाली भाषामा बोलेका सम्वादहरु सुनेर अनि हेरेर रमाउन पाउनु पनि एउटा गौरव नै थियो । त्यसैले जसले जे नीयतले वा जे उद्येष्यले शुरुवात गरेको भए पनि नेपाली चलचित्रको अगाडी बढ्ने बाटो निर्माण गरिदिने ति समस्त ब्यक्तिहरु प्रति र उनिहरुले चलचित्र उद्योग निर्माणको लागि गरेको पहल अनि त्यो इतिहासको लागि गौरव र सम्मान गर्दै उनिहरुलाई साधुवाद दिनै पर्दछ अन्यथा हामी आजका चलचित्रकर्मीहरुलाई आफ्नै पेशा र इतिहासले धिक्कार्ने छ ।

नेपाली चलचित्र क्षेत्रले एउटा शुसुप्त र संक्रमणकालिन युगको यात्रा पार गर्दै आजको अलि सुगम र आधुनिक युगमा प्रवेश गरेको तथ्य यहाँ उल्लेख गर्नु सान्दर्भिक होला ।तत्कालिन अवस्थामा ३/४ वर्षमा एउटा मात्रै चलचित्र निर्माण गरेर भए पनि चलचित्र निर्माण यात्राको गतिलाई रोकिन नदिने ति अग्रज श्रष्टाहरुलाई सम्मान गर्नै पर्दछ । पेशागत रुपमा चलचित्र पेशाले जीवन चलाउँन नसक्ने अवस्था विद्यमान रहँदा पनि आफ्नो नीजी जीवनको सुख र चैनलाई तिलाञ्जली दिएर यो क्षेत्र प्रति अग्रजहरुले गरेको मिहेनत, लगानी र समर्पणलाई सलाम गर्नै पर्छ । यस उद्योगलाई माया गर्ने ति अग्रजहरुले जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि पलायनताको बाटो रोजेनन् बरु जतिनै कठिन संघर्ष र त्याग गर्नु परे पनि यो उद्योगको हितको लागि आफ्नो जीवन समर्पण गरेको इतिहास छ हामी संग,आफ्नो जीवन यो उद्योगको लागि समर्पण गर्ने ति महान श्रष्टाहरु इतिहासका अमूल्य निधि भएका छन् , जसले भौतिक सुख र सुविधाको लागि पलायनताको बाटो रोजे उनिहरु इतिहासको गर्तमा हराएका छन् । चलचित्र उद्योगलाई स्थापित गर्ने शुरुवाती र मध्यकालिन अवस्थामा समाजले, सञ्चार जगतले, परीवारले र देशले चलचित्र क्षेत्रमा लागेर पनि खान पुग्छ र ? भनेर सोधिने प्रश्नहले पक्कै पनि ति अग्रजहरुको मनमा काडाँले घोचे जसरी घोच्दो हो, त्यो प्रश्नहको झटारो सम्झेर एकान्तमा मन रुँदो हो, अभावको पीडाले पारीवारिक कलह पनि हँुदो हो तर ति सबै कुराहरुलाई नजर अन्दाज गरेर नेपाली चलचित्र क्षेत्रको श्री बृद्धिमा निरन्तर लागि परेर आफ्नो सम्पुर्ण ब्यक्तिगत जीवन यस क्षेत्रको बिकाश र बिस्तारमा समर्पण गर्ने ति महान योद्धाहरुलाई हामीले हृदय देखिनै नमन गर्नु पर्दछ अन्यथा हामीले आफैंलाई जन्म दिने बाबु आमाहरु प्रति गरेको अपमान जस्तै ठहरिने छ ।

२०४६/०४७ को आन्दोलन पश्चात देशमा निर्दलिय पञ्चायती ब्यवस्थाको अन्त्य भएर जब प्रजातन्त्रको स्थापना भयो तत्पश्चात नेपाली समाज पनि एउटा बन्धनबाट मुक्त भएर खुल्ला र उदारवाद तर्फ अघि बढ्यो, त्यसैको प्रभाव स्वरुप ३/४ बर्षमा एउटा चलचित्र बन्ने यो क्षेत्रको दायरा पनि अलि फराकिलो हुँदै जान थाल्यो । त्यसपछि बर्षमा ८/९ वटा चलचित्र बन्ने स्थीति पैदा भयो । दिन प्रतिदिन अनि हरेक बर्ष निर्माणको गतिले आफ्नो रफ्तार पनि बढाउँदै लग्यो । नया नया कलाकार तथा प्राविधिक अनि निर्माताहरु यस क्षेत्रमा प्रवेश गर्न थाले । चलचित्र क्षेत्रमा लागेर भात खान पुग्छ र ? भनि प्रश्नहरु सोधिने क्रम विस्तारै हराउँदै गयो । यो क्षेत्रलाई नै आफ्नो मुख्य पेशा बनाएर मानिसहरु समाजमा स्थापित हुन सक्ने अवस्था सिर्जना हुँदै गयो । भलै यो अवस्था सिर्जना गर्नका लागि सयौं चलचित्रकर्मीहरुले आफ्नो नीजी जीवनलाई नारकिय बनाएर भए पनि पछिल्लो पुस्तालाई स्वर्णिम जीवन यापन गर्न सक्ने अवस्था सिर्जना गरिदिए ।

आज नेपाली चलचित्र उद्योगमा बर्षेनी लगभग २०० को हाहारीमा चलचित्रहरु निर्माण हुँने अवस्था सिर्जना भएको छ । लाखौं ब्यक्तिहरुले यहि क्षेत्रबाट आफ्नो र परीवारको जीवन धान्न सक्ने अवस्था सिर्जना भएको छ । यसलाई एउटा सुखद अवस्था मान्नु पर्दछ । हरेक हप्ता ३/४ वटा चलचित्रहरु प्रर्दशनमा आईरहेका छन् , यो क्षेत्र संग सयौं मिडियाहरु आवद्ध भएर काम गरिरहेका छन् । सरसर्ती हेर्दा यो उद्योगमा एक प्रकारको चाडपर्विय रौनक छाईरहेको छ । हरेक हप्ता प्रदर्शन हुने चलचित्रहरुमा एउटा न एउटाले करोड क्लव वा पाँच करोड क्लव अथवा दश करोड क्लवमा आफ्नो ब्यापारलाई प्रवेश गरायो भन्ने समाचारहरु हुरी आए झैं आईरहेका छन् । कलाकार तथा प्राविधिकहरुको पारिश्रमिक एउटै चलचित्रमा ५० लाख सम्म पुगेको समाचारहरु साप्ताहिक वा पाक्षिक रुपमा आई नै रहेका छन् । सोझो आँखाले सोझै हेर्दा यस क्षेत्रमा लाग्ने ब्यक्तिहरु रातारात लखपति र करोडपति भईरहेका छन् । हाम्रा राजनेताहरुले भाषणमा भन्ने गरेको जस्तो असली सम्वृद्धी नेपालमा भन्दा पहिला नेपाली चलचित्र उद्योगमा आईसकेको प्रतित् हुन्छ । सामान्य अर्थमा भन्नु पर्दा नेपाली चलचित्र क्षेत्र हिजो जस्तो भोक र अभावको रोगले ग्रसित छैन । हैजा उन्मुलन भए जस्तै यस क्षेत्रबाट भोक र अभावको रोग उन्मुलन भएको छ । समुन्नती र सम्वृद्धीले चलचित्र क्षेत्रलाई स्वर्ग तुल्य बनाएको जस्तो लाग्दछ ।

तर बाहिर देखिए जस्तो नेपाली चलचित्र उद्योग भित्र सम्पन्ता र समुन्नती धेरै कम मात्रामा मात्र छ । भित्र भित्रै यो उद्योग झन झन रुग्ण हुँदै गएको छ , सिण्डिकेट रुपी एैंजेरुले यसको स्वतन्त्र स्वरुपलाई जताततै ढाकेको छ, बाहिर नदेखिए पनि भित्र भित्रै यसको शाख ढल्दै गएको छ, अदृष्य रोगले दिन प्रतिदिन गल्दै गएको छ । त्यो अदृष्य रोग भनेको पलायनबादी रोग हो । यो रोगले धेरै चलचित्रकर्मीहरुलाई ग्रस्त पारेको छ । धेरैको जीवनलाई प्रभावित अनि छताछुल्ल पारेको छ ।
अघिल्लो हप्ता आफ्नो चलचित्र करोड क्लवमा प्रवेश गर्छ, पछिल्लो हप्ता सोहि चलचित्रको निर्माता यो क्षेत्रबाटै पलायन हुन्छ , अनि त्यसको केहि समय पछि नै कलाकार तथा प्रविधिकहरु पालै पालो क्रमैसंग यो देशबाटै पलायन भएर आफ्नो सुरक्षित भविष्य र सुखी जीवनको अभिलाषा पुरा गर्न बिदेशी भुमिको शरण पर्छन् । चलचित्रहरु हरेक हप्ता करोड क्लवमा प्रवेश गर्छन् तर यस संग सम्बन्धित निर्माता, कलाकार तथा प्राविधिकहरु हरेक दिन पलायनतावादी रोगको शिकार बन्दै जान्छन् , गैरहेछन् ।

अब यस बाट के अर्थ लगाउँने ?
यस उद्योगको अर्थशाष्त्रको सिद्धान्तलाई कसरी परिभाषित गर्ने ?
यो पलायनतावादी रोगको उपचार के हो ?
कतै हामी हावादारी प्रचारवाजीमा मात्रै रमाईरहेका त छैनौ ?

नत्र केहिलाई छाडेर अधिकांश चलचित्रकर्मी किन यो पलायनवादी रोगको फन्दामा परिरहेका छन् ?
के भोक र अभावको रोगले आज पर्यन्त नेपाली चलचित्रकर्मी र यो उद्योगलाई नछोडेकै हो त ? प्रश्नहरु साधारण छन् तर यीनका उत्तर साधारण छैनन् निकै नै जटिल छन् ।
हरेक हप्ता चलचित्रहरुले करोडौंको ब्यापार गरयो भनेर समाचारहरु भाइरल हुँदाहुँदै पनि यस क्षेत्रसंग सम्बन्धित ब्यक्तिहरु भने दिन प्रतिदिन पलायन हुँदै जानुको कारण जब सम्म हामीले पत्ता लगाउँन सक्दैनौं , जब सम्म हामीले नेपाली चलचित्र उद्योग भित्रको यो पलायनबादी रोगलाई मलजल गर्ने सिण्डिकेटरुपी एैंजेरुलाई ( प्रदर्शन देखि वितरण सम्म ) निमिट्यान्न पार्दैनौं तब सम्म नेपाली चलचित्रले यति ब्यापार गरयो वा उति क्लवमा प्रवेश गरयो भनेर प्रचार गराउँदै रमाउँनुको अर्थ भनेको रोम शहर आगोले दनदनी जलिरहँदा बासुरी बजाएर आफ्नै बासुरीको धुनमा मदमस्त राजा नीरोको नियती भन्दा नेपाली चलचित्र उद्योगको नियती फरक हुने छैन् । भोक र अभावको रोगसंग लडेर अग्रजहरुले खडा गरेको नेपाली चलचित्र उद्योगले आधुनिक युगको गति समात्यो भनेर गर्व गर्नु पर्ने बेलामा माथिका अनुत्तरित प्रश्नहरुले हामीलाई सधैं हिनताबोध मात्रै गराईरहने छन् चेतना भया ।

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com