सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

द सिनेमा टाइम्स, काठमाडौं – भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने रोमान्टिक कमेडी सिनेमा ‘ह्यारीकी प्यारी’को मल्टिप्लेक्समा अग्रिम बुकिङ खुल्ला गरिएको छ ।

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमाले ११ मल्टिप्लेक्सका बिभिन्न चेनमा ६३ शो पाएको छ । प्रदर्शनरत बलिउड सिनेमा ‘पठान’ले दोस्रो सातापनि राम्रो होल्ड गर्दा ‘ह्यारीकी प्यारी’ले सोचेअनुरुपको शो पाउन सकेन ।

डा. कपिल रिजाल निर्देशित सिनेमा अब ‘वर्ड अफ माउथ’मा भर पर्ने देखिन्छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएकाले निर्माण पक्ष आगामी दिनमा शो बढ्नेमा आशावादी देखिएको छ ।

कहाँ कति शो ?

‘ह्यारीकी प्यारी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले २५ शो दिएको छ । देशभरि प्राप्त शोजमा क्युएफएक्सको मात्रै करिब ४० प्रतिशत हिस्सा रहेको छ ।

यो साताको लागि निर्धारण गरिएका शो मध्ये ‘ह्यारीकी प्यारी’ले २५.७१ प्रतिशत हिस्सा ओगटेको छ ।
सिनेमालाई वान सिनेमाज, आइएनआइ सिनेमाज र सिनेप्लेक्स चेनले समान ६/६ शो दिएका छन् । बिग मुभिज र सिडिसी सिनेमामा ४/४ शो पाएको सिनेमाले एफक्युब, बिएसआर र रन्जना सिनेप्लेक्समा समान ३/३ शो पाएको छ ।

यस्तै क्युजमा २ शो पाउँदा किर्तिपुर सिनेप्लेक्समा सिनेमाले १ शो पाएको छ । दर्शकले अब यी मल्टिप्लेक्समा अग्रिम बुकिङ गरेर सिट सुरक्षित बनाउन सक्नेछन् ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा जितु र साम्राज्ञीसंगै विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

‘पठान’को दवदवा कायमै 

गत बुधबारदेखि प्रदर्शनमा आएको बलिउड सिनेमा ‘पठान’ले पहिलो साता आक्रामक व्यापार गर्यो । दोस्रो बिहिबारबाट सिनेमाको व्यापारमा उल्लेख्य गिरावट आएपनि मल्टिप्लेक्समा दवदवा कायमै राखेको छ ।

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर सिनेमाले दोस्रो सातामा पनि ५८.७७ प्रतिशत शो ओगटेको छ ।

यस्तै यो साताको फ्रेस रिलिज ‘माइकल’ले १४.६९ प्रतिशत शोबाट प्रदर्शन सुरु गर्नेछ । भने ‘अवतार २’ र ‘एमथ्रीगन’ केहि शोमा प्रदर्शन हुनेछन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com