सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रंगखबर, काठमाडौँ – छायाँकार हरी हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ शुक्रबार रिलिज भयो । रिलिज अगाडी औसत हाइप बनाएको फिल्मले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

फिल्म क्षेत्रमा स्थापित छायाँकारको डेब्यु निर्देशन भएका कारण पनि ‘सरौतो’ कस्तो बनेको होला भन्ने एक किसिमको जिज्ञासा थियो । रिलिज पश्चातको प्रतिक्रियालाई आधार मान्दा हरीले पहिलो फिल्मबाट तारिफ र गाली दुवै बेहोर्नुपर्यो ।

महिला प्रधान फिल्म भएकाले यस्तो कथामा जोखिम उठाउनु हरीको लागि प्रशंसाको विषय बन्यो । तर, उनि कथा र पटकथा छनोटमा चुके । साथै, प्रस्तुतिकरणका हिसावले पनि हरीले जस पाएनन् । फिल्मको कथा घिसिपिटी पुरानै थियो । त्यसमा पटकथा कमजोर बनिदियो ।

बरु फिल्मको टेक्निकल पाटोको प्रशंसा भयो । फिल्मको छायाँकन र सम्पादन बलियो रहेको मदनकृष्ण श्रेष्ठदेखि हरिवंशसम्मको एउटै प्रतिक्रिया रह्यो । दीपकराज गिरी, केदार घिमिरे र प्रशान्त ताम्राकार जस्ता कलाकारले पनि टेक्निकल विधाको प्रशंसा गर्दा कथा र पटकथाको विधामा मुक्तकण्ठाले तारिफ गर्न सकेनन् ।

बरु सुमी मोक्तानले फिल्ममा गरेको एक्सन पक्ष रुचाइयो । बहिराको भूमिकामा खासै न्याय नगरेका प्रतिक्रिया पनि आए । जे होस् सुमीले राम्रो मेहनत गर्न सक्ने कलाकारको रुपमा आफुलाई प्रमाणित गरिन् ।

सन्नी सिंह, लियो ट्यांक, विजय लामा र युवराज लामा जस्ता कलाकारले पनि अभिनय बाट खास चर्चा पाएनन् । बरु खलपात्रमा देखिएका आमिर गौतमको अभिनयले ठिक-ठाक प्रतिक्रिया पायो ।

समिक्षात्मक रुपमा पनि फिल्म चिप्लियो । समिक्षकबाट फिल्मले औसत भन्दा कमको रेटिङ पायो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com