सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: एक महिनासम्म चित्लाङ र चितवनमा छायांकन गरेपछि फिल्म ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । फिल्मका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको हो ।

कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा फिल्मको छायांकन सकिएको बसन्तले बताए । उनका अनुसार, यसपटक फिल्म रमाइलो बनेको छ ।

यो फिल्ममा कलाकार जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकेसँगै फिल्मको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको छ । यो फिल्ममा जीतु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रुपमा देख्न सकिन्छ । निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन । निर्देशक निरौलाले भने–‘जीतु र नीति शाहलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले, हामीले सुटिङ सेटबाट कुनै पनि लुक्स सार्वजनिक गरेका छैनौं । दर्शक फस्टलुक देखेर सरप्राइज हुनुहुनेछ ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com