सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमाअभिनेता,निर्देशक तथा सञ्चारकर्मी दिनेश राज दाहाल (दिनेश डिसी) नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार राति सम्पन्न भएको बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद्का एक सदस्यले पुष्टि गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ । सञ्चार मन्त्रालयले दिनेशसँगै दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।

कुशल अभिनेता तथा कुशल उद्घोषकसमेत रहेका निर्देशक दिनेश डिसी सत्तारुढ नेकपा एमालेसंग निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । २७ वर्षअघि प्रदर्शित चलचित्र ‘सुनचाँदी’ बाट नेपाली रजतपटमा होमिएका डिसीले धेरै चलचित्रहरु निर्देशन गरेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पद गत साउन ९ गतेदेखि रिक्त छ । अभिनेता तथा निर्माता भुवन केसीको अध्यक्षको रुपमा दुई वर्षे कार्यकाल पूरा भएसंगै बोर्डको अध्यक्ष पद रिक्त भएको थियो ।

बोर्ड अध्यक्ष पदका लागि छ जनाले आवेदन भरेका थिए । अध्यक्ष पदमा आवेदन दिएका छ जना उम्मेदवारहरुले गत भदौ ५ र ६ गते अर्थात बुधवार तथा बिहीवार मन्त्रालयमा अन्तर्वार्ता दिएका थिए । मन्त्रालयमा अघिल्लो बुधवार दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर तथा निर्माता अर्जुन कुमार डंगोलले अन्तर्वार्ता दिएका थिए भने बिहीवार निर्देशक दीपा पाण्डे बस्नेत, वोर्डमै आवद्ध प्रकाश भट्टराई तथा संस्कृतिकर्मी राजेश थापाले अन्तर्वाता दिएका थिए । मन्त्रालयले अध्यक्ष पदको दावेदारको रुपमा हेरिएकी अभिनेत्री मानन्धरसहित निर्माता अर्जुन कुमार डंगोल तथा प्रकाश भट्टराईलाई सिफारिमा समावेश गरेन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com