सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बांग्देल एंड शाक्य प्रडक्सनको प्रस्तुति साथै चर्चित नेपाली निर्देशक मीनबहादुर भामद्वारा निर्देशित चलचीत्र ‘शाम्बाला’को हिजो आइतबार ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स चलचित्र हलमा एक्सक्लुसिभ प्रिमियर आयोजना भएको थियो । रिसेप्सनसहित आयोजित प्रिमियरमा सहभागी हुन विशेष अतिथिको रूपमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र चर्चित भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपको उपस्थिति रहेको थियो। साथै नेपाली चलचित्रका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको चलचीत्र यसै महिना स्वीट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा पनि स्क्रिनिङ भएको थियो । ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरा बताइएको चलचीत्र ‘कालोपोथी’ फेम्ड निर्देशक भामको दोस्रो निर्देशकीय चलचीत्र हो ।

चलचित्रमा कलाकारहरु थिन्ले ल्हामो,सोनाम तोप्देन,तेन्जिन दल्हा ,कर्मा आदिको अभिनय रहेको छ ।

मीनबहादुर भामको निर्देशनमा बनेको चलचित्रमा स्क्रिनराटिङ्ग मीनबहादुर भामका साथमा अभिनाश बिक्रम शाह गरेका छन् भने सिनेमाटोग्राफी अजिज ज्हाम्बाकियेव को छ र सम्पादन किरण श्रेष्ठ र लिओं चिङ्ग – सांग म्युजिक को रहेको छ । निर्मातामा मिनबहादुर भाम आफै रहेका छन् ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने यो चलचीत्रलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।

झण्डै १४ करोड रुपैयाँ बजेट रहेको यो चलचीत्रलाई अहिलेसम्मकै महंगो नेपाली चलचीत्र बताइएको छ । यो चलचीत्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । चलचीत्रलाई नेटफ्लिक्समा रिलिजका लागि आफ्ना विदेशी निर्माता लागिपरेको समेत भामले जनाए ।

चलचीत्रमा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । चलचीत्रले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ ।

चलचीत्रले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् ।

‘शाम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । चलचीत्रको मल्टिप्लेक्स पार्टनरमा क्यूएफएक्स छ । चलचीत्र निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेका छन् ।

चलचीत्र भदौ २८ गतेदेखी नेपालभरिका हलहरुमा प्रदर्शन हुँदैछ । नेपालमा यो चलचीत्रलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको छ ।

तस्विरहरु : विकास रौनियार

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com