सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने नीता ढुंगाना तथा हरिहर अधिकारीको चलचित्र ‘ह्रस्व–दीर्घ’ को विदेशबाट समेत राम्रो माग आइरहेको निर्माण पक्षले जनाएको छ । यसैबीच, यो चलचित्र जापानमा सोल्ड आउट भएको छ । जापानका लागि बिटिकेएस इन्टरटेन्मेन्टले चलचित्रलाई जापानका विभिन्न शहरमा प्रदर्शन गर्ने अधिकार खरिद गरेको छ । जस अनुसार चलचित्र जापानका टोक्यो, चिबा, कानागावा, फुनाबासी, नरिता, अबिको, नागोया, फुकावका, ओशाका, कोबे, क्योटो, निगाता, शिजुवका तथा ओकिनावा शहरमा प्रदर्शन हुने निश्चित भैसको छ ।
यसअघि नै ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली तथा हिन्दी भाषामा एकै दिन रिलिज हुने घोषणा गरिएको छ । केही समयअघि निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै चलचित्र नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको थियो ।
चलचित्र विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेदेखि नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्मात्री नीता ढुंगानाले दिएकी छिन् । चलचित्रको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनिका सञ्चालक मध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिएका छन् ।
नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो फिल्म तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भैरहेको अभिनेता हरिहर अधिकारीले बताएका छन् । ‘हाम्रो चलचित्रका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं’, भारतीय वितरकले पनि चलचित्रप्रति राम्रो चासो देखाएको हरिहरको भनाइ छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
प्रतिक्रिया