सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका निता ढुङ्गानाले निर्माण गरेको प्रतिक्षित चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा नपुग्दै ट्रेन्डिङको शीर्ष दुइ स्थानमा उक्लिएको छ । ट्रेलरमा एक्सन, प्रेम र बिछोड देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
उच्च मेकिंगका साथ आएको ट्रेलरको आकर्षक पक्ष साउन्ड, एक्सन र सम्बाद हो । उच्च कोटीको एक्सन र सस्पेन्सलाई दर्शकले मन पराएका छन् ।
ट्रेलरमा चलचित्रका अधिकांश प्रमुख कलाकारलाई देख्न सकिन्छ । साउथका हेवीवेट कलाकारको अभिनयले पनि प्रतिक्षित बनेको चलचित्रलाई ट्रेलरले थप हाइप दिने निश्चित छ ।
‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापालगायत कलाकारको अभिनय छ । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्मालगायतले अभिनय गरेका छन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
प्रतिक्रिया