सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरूद्वारा अभिनित चलचित्र ‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते रिलिज हुँदैछ।
नीता ढुंगाना र हरिहर अधिकारी स्टारर यो चलचित्रको प्रदर्शनका क्रममा भारतीय कलाकारहरू समेत नेपाल आउने तयारी छ । चलचित्रकी निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले ब्रह्मानन्दमसहितका कलाकारहरूलाई नेपाल ल्याउन कुराकानी भइरहेको बताइन् ।
ब्रह्मानन्दम एक हजारभन्दा बढी चलचित्रमा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका अभिनेता हुन् । ‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दमसहित प्रदीप रावत, सुनील वर्मा, कबीर दुहान, मोहम्मद अली लगायत भारतीय कलाकारहरूको अभिनय छ । प्रदीप रावत र सुनील वर्मा छायांकनका क्रममा समेत काठमाडौं आएका थिए ।
चलचित्रमा रहेका नेपाली कलाकारमा नीता र हरिहरका साथमा विपना थापा, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत छन् । चन्द्र पन्त फिल्मका निर्देशक हुन् । नीता फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रको कथा र पटकथा हरिहरको हो । संवाद प्रतिक पौडेलले लेखेका हुन् । चलचित्रलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन् ।
बुधवारमात्रै सार्वजनिक चलचित्रको ट्रेलर २४ घन्टा नपुग्दै १० लाख भ्युजसहित ट्रेन्ड्रिङमा उक्लिएको छ । ट्रेलरमा लभ, इमोशन र एक्सनलाई प्राथमिकता दिइएको छ। यो चलचित्रको बजेट ६ करोड रुपैयाँ रहेको बताइएको छ ।
प्रतिक्रिया