सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा नायीका  सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार चलचित्रमा अनुबन्धित गरेकी हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

चलचित्रमा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको चलचित्र पहिलोपटक साइन गरें’, सुहानाले भनिन् ।
उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट चलचित्र दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारसँग काम गर्न पाउनु अर्को खुशीको कुरा रहेको बताइन् । ‘सुशील अंकलसँग सहकार्य गर्न पाउनु मेरो लागि अझ खुशीको कुरा हो’, उनले भनिन् ।
निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने चलचित्र फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।

निर्माता पोखरेलले यसअघि चलचित्रहरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com