सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आजदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले अन्तरिम आदेश जारी गर्दै सिनेमाको प्रदर्शन स्थगित गर्न आदेश दिएपछि प्रर्दशन रोकिएको हो ।
बुधबार बिहान देशभरका हलले सूचना प्रकाशित गर्दै अदालतको आदेशको कारण प्रदर्शन रोक्नुपरेको बताएका छन् । चलचित्र ‘एक्टर’ का निर्माताले नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरी कानुनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैर कानुनी कार्य गरेको आरोप रिटमा लगाइएको थियो ।
सेन्सर पास भएपछि कुनै फिल्म रोक्न नमिल्ने निर्देशक तथा कलाकार निश्चल बस्नेत बताउँछन । उनले पर्दशन रोकिनुमा चलचित्र विकास बोर्डलाई नै मुख्य जिम्मेवार रहेको आरोप लगाएका छन ।
निश्चल बस्नेत लेख्छन् ” नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने बिकास बोर्ड जवाफदेही हुनुपर्छ ।चलचित्र निर्माण गर्ने ईजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । ईजाजत पाईसकेपछी निर्माण कम्पनीले बिनाकुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछी प्रदर्शन गर्न कसैले रोक्न मिल्दैन । समस्यानै भएको हो भने … ईजाजत दिने अध्यक्षलाई स्पस्टिकरण र मुद्दा लाग्नुपर्ने बिकास बोर्डलाई हो कि चलचित्रलाई ?
AKTOR Take 1 को प्रदर्शन रोकियो भने त्यसको क्ष्यतिपुर्तीको मुद्दा AKTOR Take 1 को टिमले बिकास बोर्डलाई र उजुरी गर्नेलाई त गर्ने होला नी हैन ? ”
यसअघि चलचित्र विकास बोर्डले सिनेमालाई निर्माण अनुमति तथा सेन्सर प्रमाणपत्र प्रदान गरिसकेको थियो । प्रदर्शनको एक दिन अगाडि रोकिँदा त्यसले पार्ने आर्थिक र मानसिक असरको बारेमा पनि अधिकांशले आवाज उठाएका छन् भने अधिकांशले नाम दर्ता गरेर निर्माणको इजाजत दिने चलचित्र विकास बोर्डप्रति आक्रोश देखिएका छन् ।
अदालतले आगामी माघ २२ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । चलचित्रको रिलिज रोकिँदा निर्माण पक्ष गम्भीर आर्थिक संकटमा परेको छ । करिब ३ करोड भन्दा बढी लगानी भएको सिनेमा एक दिन अघि नै रोकिएपछि निर्माता, कलाकार तथा वितरक चिन्तित बनेका छन् ।
प्रतिक्रिया