सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले गतवर्षको हिट चलचित्र ‘खुस्मा’मा सहकार्य गरेका थिए ।

बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको चलचित्रको केही दिन अगाडी पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए ।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु चलचित्र हो ।

कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो चलचित्रको छायांकन तिन चरणमा गरिनेछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेकोचलचित्रका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

चलचित्रको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ । निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय चलचित्र ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com