सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि बैशाख १२ गते बाट प्रदर्शनमा आउने साथै हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ को मङ्गलवार काठमाडौंको क्यूएफएक्स सिभिल मलमा ग्रान्ड प्रिमियर भएको छ । विनोद पौडेलद्वारा निर्देशित उक्त चलचित्रको प्रिमियरमा राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रिमियरमा बलिउड अभिनेत्री मनिषा कोइराला,वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गायिका आनी छोइङ डोल्मा, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, क्रिकेट कप्तान रोहितकुमार पौडेल, क्रिकेटर सोमपाल कामीलगायत विशिष्ट अतिथिहरूले चलचित्रको कथा, अभिनय र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका थिए ।
उनीहरूले चलचित्रले भुटानी शरणार्थीहरूको पीडा, देश प्रेम र पहिचान गुमाउनुको कथा प्रभावशाली ढङ्गले उठाएको भन्दै नेपाली चलचित्रको स्तर उकास्ने खालको उत्कृष्ट प्रयास भएको टिप्पणी गरे । कलाकार हरिवंश आचार्यको फरक र गम्भीर भूमिकाले सबैलाई प्रभावित बनाएको पाहुनाहरूको भनाइ रहेको थियो ।
मानीस संसारमा जहाँ पुगेपनि उ आफ्नो संस्कृती र जन्मथलोलाई बिर्सन सक्दैन र एउटै मान्छेले जिन्दगीमा फरकफरक भूमिका निर्वाह गर्नुपर्ने बाध्यता र उक्त भूमिका निर्वाहका क्रममा हुने उतारचढावको कुरा चलचित्रको कथासार रहेको छ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे ,दयाहाङ राई,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेकाछन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
सन् २०१३ मा आएको चलचित्र साँघुरोबाट उत्कृष्ट पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार एवं २०१९ मा पहिलो चलचित्र “बुलबुल” निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो ।
नेपालमा रहेका निर्माता अविरल थापा यस चलचित्र मार्फत हरिवंश आचार्यको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको चलचित्रको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको बताउँछन् ।
भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुले थातथलो छोड्नुपर्दा आफ्नो घर हराएको कथा र अस्तित्वको खोज समेटेर बनेको यस चलचित्र भूठान ( द वल्र्डस् ह्याप्पिएस्ट म्यान ) को अधिकांश छायाँकन अमेरिकामै भएको छ ।
यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताव जोशी र अविरल थापा ,सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी ,कौशिला खनाल –कर्माचार्य,रमेश भट्ट,अपार श्रेष्ठ ,भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं)र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।
चलचित्रमा सुसन प्रजापतिको छायाँकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,श्यामबरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेकाछन् ।
यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।
भने चलचित्रलाई (BUFFALO 8 ) बफेलो एट हलिउड कम्पनीले अमेरिका र क्यानाडामा वितरण गर्दैछ ।
प्रतिक्रिया