सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले चलचित्रका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।

अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’ यसअघि यो चलचित्रका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरु बाहेक यो चलचित्रको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन। नीताले मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताइन्।

नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्रमा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । निर्देशक ढुङ्गानाले अन्य कलाकारहरुको बारेमा जानकारी सार्वजनिक गरेकी छैनन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com