सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब चलचित्र निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबारको दिन पारी चलचित्र ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण बारे घोषणा गरेको हो ।

पोस्टरअनुसार चलचित्रमा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ। त्यस्तै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ।

घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, चलचित्रको टाइटल र मेकिंङ टिमको जनरा अनुसार यो चलचित्र पुर्ण कमेडी शैलिमा निर्माण हुनेछ ।

चलचित्रको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, बिकाश अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक डीओपी सुदिप बराल रहनेछन्। चलचित्रको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन् ।

चलचित्रको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। हाल टेलिभिजनमा निकै लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो चलचित्र प्रोजेक्ट हो।

निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ। चलचित्रको बजेट र प्रदर्शन मिति हाल खुलाइएको छैन। चलचित्र घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, –‘आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु । ‘क का कि की’ को यस यात्रामा हामीलाई विश्वास छ कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ। हाम्रो टिम ‘कमेडी दरबार’ को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो।’

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com