सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो की विपना हो ’ सार्वजनिक भएको छ ।
थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत रहेको छ ।
सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु कर्णप्रिय छन् । उक्त गीतले चलचित्रका पात्रहरुको वियोगान्त कथा बोलेको देखिएको छ ।
यही साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही चलचित्रका निर्माता हुन् ।
चलचित्र ‘मोहर’ मा अभिनेता पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहका साथमा कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरि घुमेको छ । देउकी प्रथालाई मुख्य विषयवस्तु बनाइएको चलचित्रको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा तथा नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।
एउटी बालिकालाई देउकी चढाउने विषयबाट उठान भएको चलचित्रको ट्रेलरलाई दर्शकहरुले रुचाएका छन् । चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्रप्रतिको चासो बढाउने देखिन्छ ।
चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका रहेको छ ।
दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स छ । कुमार महर्जनको एक्सन रहेको चलचित्रमा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ ।
प्रतिक्रिया