सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा आज हलमा दर्शकको चाप सुखद देखिएको छ । तीजको बिदा परेकाले हलमा दर्शकको चाप राम्रो देखिएको हो ।
निर्माणपक्षले आज देशभरका हलमा दर्शकको बाक्लो उपस्थिति रहेको जनाएको छ । बिहानैबाट हलमा दर्शकको बाक्लो चाप देखिएको निर्माणपक्षको दाबी छ ।
राजधानी काठमाडौंदेखि विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको निर्माणपक्षले जनाएको छ । परिवारसहित हलमा दर्शक आइरहेको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।
“परिवारसहित दर्शक हलमा बिहानैदेखि आइरहनु भएको छ । अपराह्नपछि दर्शकको संख्या थप बढ्न देखिएको छ,” उनले बताए ।
शुक्रबारबाट रिलिज भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हलमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ ।
चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै उत्कृष्ट वर्ड अफ माउथ पाएको छ । सामाजिक सञ्जालमा दर्शकले लेखेका प्रतिक्रियाबाट फिल्मले भावनात्मक प्रभाव पारेको स्पष्ट देखिन्छ । पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जिन्दगीको कथासँग रिलेट गरिरहेका छन् ।
चलचित्र हेरेपछि धेरैले यसलाई आफ्नै जीवनसँग जोडेको प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले सिनेमाले भावुक बनाएको बताएका छन् । कतिपय दर्शक त हलमै रोइरहेका भिडियोहरू आइरहेका छन् ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।
प्रतिक्रिया