सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज १३ गते फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर चलचित्रको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट राख्दै चलचित्रको प्रचार थालेको हो ।

निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका शहरहरु कास्की, चितवन, रुपन्देही, नेपालगन्ज, मकवानपुर, जनकपुर, मोरङ, झापा, सुनसरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा चलचित्रको जानकारीमुलक सामाग्री राखिएको छ। काठमाडौँ उपत्यकामा मात्रै २७ वटा र पोखरामा मात्रै ८ वटा बस बिसौनीमा चलचित्रको बोर्ड राखिएको छ । अन्य देशभरका करिब ३ सय बस बिसौनीमा स्टिकर टाँसिएको छ ।

निर्माता ओलीका अनुसार देशभरका २७ वटा भाटभटेनी सुपरमार्केटमा चलचित्रको स्ट्यान्डी राखिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, साँगा, चन्द्रागिरी, मनकामना लगायतका स्थानमा ठूलो होेर्डिङ बोर्ड राखिएको छ । देशभरका अधिकांश ठूला मलहरुमा चलचित्रको कटआउट राखिएको छ भने काठमाडौँमा अधिकांश लोकल बसमा चलचित्रको स्टिकर टाँसिएको देख्न सकिन्छ । ‘टिभी सिरियलमा निकै रुचाइएको हरिबहादुर पात्र अब चलचित्रमा थप रुपान्तरणसहित सस्पेन्स र मनोरञ्जनात्मक कथा बोकेर ठूलो पर्दामा आउँदैछ भन्ने जानकारी दर्शकलाई होस् भनेर हामीले देशभर यस्तो प्रचार शैली अपनाएका हौँ,’ निर्माता ओलीले भने ।

गत सातामात्रै यो चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ।

सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरुलाई मात्रै रुवाउँथ्यो, चलचित्रमा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ। निर्देशक दीपेन्द्र के खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभास टिजरले दिन्छ।

मल्टिस्टारर यो चलचित्रमा हरिवंश आचार्यसहित, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com