सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो ।
यो चलचित्रको प्रिमियर शो सुरु हुने अगाडी गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो । चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए । यो सिनेमाको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए ।
चलचित्र हेरिसकेपछि अभिनेता बाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने चलचित्र बनेको बताए । यो चलचित्र हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट चलचित्र भएको आफ्नो बुझाई रहेको उनको भनाई थियो । यता, चलचित्रका अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए । निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो चलचित्र निर्माण गर्नु भएको छ । सवैले साथ दिनु जरुरी छ । त्यसैले सवै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ ।
चलचित्रकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले चलचित्र हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन् । ‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु । म जुन शहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ । त्यसैले अमेरिकामा रहँदा यो सवै मिस गरिरहेकी थिए । आज रिमै हेरिरहँदा त्यो सवै भुलेर नयाँ अनुभव बटुले । चलचित्र निकै राम्रो बनेको छ । लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन् ।
यो चलचित्रका निर्देशक खिलबहादुर गुरुङ आफुले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरु केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए । ‘हामीले इमान्दारीताका साथ चलचित्र निर्माण गरेका छौं । दर्शकले मन पराई दिनु हुन्छ भन्ने विश्वास छ । आज प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले चलचित्रको व्यापारमा अझै प्लस गर्ने विश्वास छ,’ निर्देशक गुरुङले भने ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो चलचित्र आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया