सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साउनको २३ गतेबाट रिलिजमा आएको चलचित्र ‘मोहर’ हलमा लागिरहेको छ । यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट चलचित्रमा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ ।
अब, यसको निर्माणपक्षले चलचित्र रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ ।
देशका ४ वटा हलमा गएर चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, किर्तिपुरको ‘किर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।
म्याङ्गोमा फिल्म हेर्नेमध्ये ३ जना, सिटी स्क्वायरमा फिल्म हेर्नेमध्ये २ जना, किर्तिपुर सिनेप्लेक्समा फिल्म हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा चलचित्र हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
दर्शकले चलचित्रको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ । जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म चलचित्र हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् ।
भदौ २३ गते भन्दा अगाडि चलचित्र हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षको भनाई छ ।
विजेताहरुलाई फिल्मको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्रले बक्स अफिसमा ५ करोड माथिको व्यापार गरिसकेको छ ।
पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुकोचलचित्रमा अभिनय छ । फिल्म मेकर्स प्रा.लिले चलचित्र निर्माण गरेको हो ।
प्रतिक्रिया