सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत भदौ २३ र २४ गते नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण देशभरमा बन्द रहेका चलचित्र भवनहरु आज सोमबारदेखि संचालनमा आउने भएका छन् । हिजो आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै चलचित्र भवन संचालनमा ल्याउने निर्णय गरेको छ ।
देशका विभिन्न स्थानमा तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउने भएका छन् । विराटनगरस्थित भाटभटेनीमा आगजनी हुँदा त्यहाँ रहेको देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको हल पूर्ण रुपमा जलेको छ । जसबाट १५ करोड क्षति भएको छ । बुटवल र भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्स हलको टिकट काउन्टर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज नयाँ बसपार्कस्थित ल्होत्से मलको बाहिर रहेको टिकट काउन्टरमा पनि आगजनी र तोडफोड भएको छ । उक्त मलमा भएको आगजनीका कारण हलको उपकरणमा समेत असर परेको जनाइएको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीले काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा पनि तोडफोड गरेका थिए ।
हल व्यावसायीको छाता संस्था नेपाल चलचित्र संघले केही सर्तसहित हल खोल्न लागिएको अध्यक्ष नरेन्द्र महर्जनले बताए । निर्माता तथा संघका अध्यक्ष महर्जनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालनमा ल्याइनेछ ।
हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत चलचित्र भवनहरू ‘माग्ने राजा’ ‘रिमै’, ‘बागी ४’, ‘कोशेढुंगा’, ‘मोहर’लगायतका चलचित्रहरु प्रदर्शनरत थिए ।
प्रतिक्रिया