सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ चलचित्र ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने चलचित्रका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् ।

अहिले छायांकनमा चलचित्रका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने चलचित्रकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका अनुसार आजैबाट छायांकन सुरु भएको छ । अन्य केहि कलाकार बिचमा जोडिदै जानेछन् ।

चलचित्र ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । ‘कमेडी दरबार’कै निर्देशकद्धय बिक्की र श्रृद्धाले नै फिल्मलाई निर्देशन गर्दैछन् भने चलचित्रको लेखक पनि बिक्कीसँगै बिकाश अर्याल र सरोज भण्डारी हुन् । यस्तै चलचित्रमा स्क्रिन प्लेपनि बिक्की कै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा रहेका छन् । चलचित्रको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । चलचित्रको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।

निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो । जुन पोस्टरका कारण पनि चलचित्रको कथा रहस्यमय रहेको बुझन् सकिन्छ । चलचित्रको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com