सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोली भाइटिकाको दिन देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सोल्टिनी’ रिलिजको एक दिन अघि नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ। एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने कोरियोग्राफी शिशिर खातीले गरेका छन्।
गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बुबिचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने भिजुअल देख्न सकिन्छ। यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ।
‘सोल्टिनी’ टिम हालै देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरेको छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाए।
केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ। चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ।
नेपालमा भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने ‘सोल्टिनी’ अब जापान र क्यानडामा पनि रिलिजको तयारीमा रहेको छ। चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया