सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो।
देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ।
चलचित्रमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने,‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो चलचित्रले समाजमा चेतना जगाउनेछ।’
विजय केरुङको निर्देशनमा बनेको यो चलचित्रमा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका निर्देशक विजय केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पुर्याउन खोजिएको बताए। उनका अनुसार चलचित्रले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।
शिवम अधिकारीको लेखनमा बनेको चलचित्रमा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
चलचित्रको वितरण आर आर फिल्मस्ले गर्नेछन भने डिजिटल पार्टनर ओएस आर रहेको छ ।









प्रतिक्रिया