सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको ‘परान’ चलचित्र उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ ।
भावनात्मक पारिवारिक कथा पेश गर्ने चलचित्र हेरेर दर्शकहरू भक्कानिएको भिडियो सामाजिक सञ्जालमा छ्याछ्यासी भइरहेका छन् भने हेर्ने जत्तिले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको चलचित्रले आफ्नो कथावस्तु, सोमाथिको अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ बटुलिरहेका छन् ।
प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भनाइ छ । यस्तै, केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारहरूले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् ।
चलचित्रले नकारात्मक प्रतिक्रिया लगभग पाएको नै छैन भने पनि हुन्छ ।
चलचित्र हेर्ने धेरै दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन् ।
परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मानिसको मन छोइरहेका कारण ‘परान’ लाई देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेको छ ।

रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि थुप्रै सेलिब्रेटी, राष्ट्रिय व्यवसायीहरूका साथमा पत्रकार तथा सम्पादकहरूले चलचित्रलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको चलचित्रको रूपमा प्रशंसा गरेका थिए ।
चर्चित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको चलचित्रले डेब्यू निर्माणमै उत्कृष्ट चलचित्र ल्याएको भनेर यतिखेर नेपाली रजतपटमा व्यापक रूपमा चर्चा भइरहेको छ ।
बितेका दिनमा वर्षाका कारण दर्शकको फुटफलमा केही कमी देखिएको भए पनि आजबाट चलचित्रले पिकअप लिएकोले निर्माण पक्षसमेत हौसिएको छ ।
यस्तै, हल संख्या समेत बढेको निर्माण पक्षले जनाएको छ ।
किन मनपराए त दर्शकले ‘परान’? आखिर के छ ‘परान’मा?
दर्शकले मुख्य रूपमा चलचित्रको कथा र प्रस्तुतिलाई मनपराएका छन् । यसको कथानकको लयले दर्शकलाई विस्तारै भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ ।

आफू जन्मिएको, हुर्किएको ठाउँभन्दा पर पुगेकालाई यसले अझ भावनात्मक बनाउने काम गरेको छ ।
चलचित्रले पस्किएको पारिवारिक कथामा दर्शकले धेरैजसो क्षणमा आफूलाई अनुभूत गर्छन्, जसका कारण उनीहरूले यो चलचित्रलाई मन नपराई बस्न सक्दैनन् ।
यसले परिवारको अर्थ, महत्व, बाबुछोराको सम्बन्ध, पुँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीच आ–आफ्ना सोच र सपनाले उत्पन्न हुने परिस्थितिका द्वन्द्वदका कुराहरूलाई प्रस्तुत गर्छ, जसमा दर्शकले निसर्त आफूलाई सहमत गराउँछन् ।
यसरी दर्शकले सहजरूपमा आफूलाई नै पर्दामा हेरिरहेझैँ अनुभव दिएकोले चलचित्रले दर्शकलाई शतप्रतिशत नम्बर दिँदै हेर्नुपर्ने र छुटाउन नहुने चलचित्रको रूपमा लिएका हुन् ।
मोटामोटी रूपमा चलचित्रले दर्शकलाई ठग्दैन ।
यस्ता विभिन्न कारणहरूले गर्दा चलचित्र दर्शकले मनपराएका हुन् ।
चलचित्रमा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ ।









प्रतिक्रिया