सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र हर्षको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको ट्रेलरमा देखाइएको छ । लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ ।

आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली चलचित्रमा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरेकी छन् ।

चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी चलचित्रमा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् । काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com