सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  युटुबमा चलचित्र ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’लाई दर्शकले सर्वाधिक रुचाएका छन्। युटुब तथा टिकटकमा राखिएको यो गीतलाई दर्शकले रुचाएका हुन्। अहिले टिकटका अधिकांश दृश्यमा यो गीतको शब्द ‘टाटा बाइ बाइ’मा भिडियो निर्माण गरिएको छ।

निर्माण टिम टिकटकमा गीत हिट भएपछि उत्साहित देखिएका छन्। चलचित्रका निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो फिल्मको गीतले चर्चा पाएपछि दंग छ्न। यो चलचित्रको गीत गत आइतबार सलोमा युटुब च्यानलबाट रिलिज भएको थियो।

युटुबमा पनि गीतले राम्रै भ्युज कमाई रहेको छ। २ हजार भन्दा बढि लाइक गीतले पाएको छ भने अधिकांश कमेन्टकर्ताले गीतको प्रशंसा गरेका छन्।

गीतमा चलचित्रका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्यलाई दर्शकले सुखत प्रतिक्रिया दिएका छन्। यस चलचित्रको गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.,दिक्पाल कार्की रहेका छन्।

निर्देशक बस्नेतले यस चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित चलचित्र निर्माण भएको बताए। विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा चलचित्रमा समेटिएको निर्माण पक्षको भनाई छ। यस चलचित्रको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्।

बन्दे प्रसादको सम्पादन रहेको यो चलचित्रको लेखन गणेश बुढाथोकीले गरेका छन्। त्यसैगरि यो चलचित्रको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ। चलचित्र आगामी मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुदैछ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com