सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुनको १ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ ।

किरण नेपालीको निर्माणमा तयार भएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको चलचित्रलाई महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । चलचित्रमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा देखिएका छन् । नायिका परिक्षा लिम्बुलाई टिजरको अन्तिममा देख्न सकिन्छ । उनी, फिल्ममा सरप्राइज प्याकेजको रुपमा देखिएकी छिन् ।

निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको चलचित्रमा एनबी महर्जनको एक्सन छ । सुरज आचार्य चलचित्रका निर्माण प्रमुख हुन् ।

चलचित्र ‘कल्ली’ले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ । चलचित्रले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रको मेकिङ बलियो देखिएको छ ।

टिजरमा प्रस्तुत गरिएको ब्याक ग्राउन्ड स्कोर र केही संवादले दर्शकलाई हलसम्म तान्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा चलचित्र निर्माण भएको हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com