सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् ।

संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले चलचित्र ‘कार्साङ्’ निर्देशन गरेका थिए । अथवा ‘कार्साङ्’कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन् ।

यमले नै तीनजना अथवा निर्देशक र मुख्य कलाकार (नायक/नायिका) फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो चलचित्रमा पनि दयाहाङ र सिर्जनालाई नै लिए ?

“एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,” जवाफमा निर्देशक यम भन्छन् “दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो ।”

चलचित्रको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन् ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो ।

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’मा शाइसा गौचन अर्को मुख्य पात्र हुन् । उनले दयाहाङको छोरीको भूमिका निभाएकी छन् ।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ । जसमा आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ । छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना, शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com