सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत चलचित्रको प्रदर्शन अधिकार विक्री हुन थालेको छ।
परदेशिएका नेपालीहरुको कथासँग जोडिएको चलचित्रको प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको हो। हालै यस चलचित्रको प्रदर्शन अधिकार माल्टा समेत भएको छ। हालै निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल र विकाश ढुङ्गानाबीच माल्टामा प्रदर्शनका लागि सम्झौता गरेका छन्। त्यहाँ रहेका नेपालीहरुका लागि माल्टाका लागि चलचित्र वितरण गर्दै आएका द्धय ढकाल र ढुङ्गानाले चलचित्रलाई खरिद गरेका हुन्।
यस चलचित्रका निर्देशक चन्द्र पन्तले फिल्म ‘आ बाट आमा’माल्टामा प्रदर्शन अधिकार बिक्री गरेको बताए। ‘हाम्रो चलचित्र माल्टाका लागि प्रदर्शन अधिकार बिक्री गरेका हौँ,’उनले भने,‘राम्रै रकममा बिक्री गरेका हौँ।’
विदेशमा आफ्नो चलचित्रको उच्च माग हुन थालेपछि निर्देशक पन्त दंग परेका छन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस चलचित्रमा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै चलचित्रको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डिओपी रहेको यस चलचित्रमा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
चलचित्रको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।
नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।




प्रतिक्रिया