सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको सिनेमा दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।
अभिनयको क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका चलचित्रकर्मीको चलचित्र हो, ‘द ब्ल्यू लाइट’ । यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत नै आफूलाई प्रमाणित गरिसकेकी थिइन् ।
यो चलचित्रमा अर्का मुख्य कलाकार हुन्, महेश त्रिपाठी । जसले ‘हल्कारा’मार्फत नै उनले आफूलाई अब्बल दर्जाको अभिनेता प्रमाणित गसिकेका थिए । अहिले हलमा रहेको चलचित्र ‘परान’मा पनि महेश छन् ।
अर्पण थापा, जो नेपाली चलचित्र उद्योगमा सीमित अब्बल कलाकारमध्ये उनी एक हुन् । जसको एटिच्युड निकै लोभलाग्दो हुने गरेको छ ।
आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठजस्ता लोकप्रिय कलाकार यो सिनेमामा छन् । सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि यो चलचित्रमा अभिनयमा रहनेछन् ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो । तर, चिफ एडीको रुपमा भने उनले थुप्रै चलचित्रमा काम गरेको अनुभव छ । गएको दसैँमा रिलिज भएको ‘बलिदान’को निर्देशकीय टिममा पनि बलिराम थिए ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । हालै युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । धेरै दर्शकले नेपाली चलचित्रमा नयाँ स्वाद र फरक विधाको आगमन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
गत शुक्रबार रिलिज गरिएको यो ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ कौतुहलता र चर्चा पैदा गरेको छ । धेरैले चलचित्रको सस्पेन्स र कलाकारहरूको ‘पावरफुल’ अभिनयको तारिफ गरेका छन् । विशेष गरी गम्भीर र जटिल विषयवस्तुमा आधारित चलचित्र रुचाउने दर्शकहरूका लागि ‘द ब्ल्यू लाइट’ विशेष हुन सक्ने देखिन्छ ।
ट्रेलरको सुरुवातदेखि नै रहस्यमयी र अँध्यारो परिवेश देखाइएको छ । अभिनेत्री बेनिशाले ‘माया’ नामक युवतीको भूमिका निर्वाह गरेकी छिन्, जो एक्लोपन र कुलतमा फसेकी देखिन्छिन् । ट्रेलरमा देखाइएका दृश्यहरूले मायाको जीवनमा घटेका रहस्यमय घटनाहरू, प्रेम, धोका र बदलाको कथालाई संकेत गर्छन् । विशेष गरी अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले चलचित्रको सस्पेन्सलाई अझ थप उचाइ दिएको छ । ‘विक्रम’ भन्ने पात्रको वरिपरि घुमेको रहस्य र ‘द ब्ल्यू लाइट’ को अर्थ के हो भन्ने कुराले ट्रेलरलाई थप रोचक बनाएको छ ।
निर्देशक चौहानका अनुसार चलचित्रको विषयवस्तु नयाँ नभए पनि यसलाई प्रस्तुत गर्ने शैली फरक छ ।
“हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन । तर हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौ,” निर्देशक चौहान भन्छन्, “यस भित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन् जसले दर्शकलाई एक खालको अनुभव दिन्छ भने आशा गर्दछौ ।”
चलचित्र ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने यस चलचित्रका छायाकार समेत रहेका नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।









प्रतिक्रिया