सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बहु प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’ भोलि शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। रिलिजको ठिक एक दिन अगावै यस चलचित्रले एउटा ठुलो माइलस्टोन पार गरेको छ। चलचित्रको लोकप्रिय गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गर्दै रिलिज अगावै दर्शकमाझ बलियो उपस्थिति जनाएको हो। केहर सिं लिम्बुको स्वर रहेको यस गीतमा सागर लामिछाने मगर र सुमन तामाङका शब्द तथा सुमन र केहर एन्ड द लुङा ब्यान्डको सङ्गीत रहेको छ। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले पनि चर्चा पाइसकेका छन्।

भोलिदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रले नेपालभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ। करिब २ सय शोसहित हल प्रवेश गर्न लागेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा राखिएको छ। प्रेम कथानक चलचित्र निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतले निर्देशन गरेको यस चलचित्रलाई विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। चलचित्रमा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरिएको छ।

यसै चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गर्दैछन्। उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको यस चलचित्रको कार्यकारी निर्माता केदार भुसाल हुन्। रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको ‘कुमारी’ भोलि शुक्रवारदेखि दर्शकको परीक्षा सुरु गर्दैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com