सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुन १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन्।
प्रिमियर शोमा चलचित्र निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको टिम उपस्थित थिए।
चलचित्र हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए। उनले फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए। ‘चलचित्र हेरिरहँदा यसले मलाई पुरानो घरमा पु¥यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ,’ उनले भने।
चलचित्रमा मानवीय समवेदनाका स–साना पललाई रमाइलो तरिकाले प्रस्तुत गरेको भन्दै उनले सानोमा खोलामा खेल्ने फुपु र भदैको बुढेसकालमा भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र वास्तविकजस्तो बनाउने उनले उल्लेख गरे।

आवश्यकता अनुसार थप्पड लाउने र गाली पनि गर्ने आमालाई साथ दिने तिनैजना छोराहरूको भूमिका प्रशंसायोग्य रहेको उनको बुझाई थियो। यता, निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’को उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्।
त्यस्तै अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले चलचित्रलाई कुनै उपन्यास पढिरहेजस्तो भान भएको अनुभव सुनाए। चलचित्रमा प्रत्येक कलाकारको अभिनय राम्रो गरेको उनले बताए। ‘यो चलचित्रमा कमेडी पनि छ। पारिवारिक सम्बन्धको कुरा र सबै कलाकारको अभिनय एकदम मन प¥यो। लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ। उआँले यमराजसँग कुरा गरेको, मुक्तिनाथको यात्रा सबै रमाइलो तरिकाको छ,’ उनले भने। वर्षोपछि दिदीभाइको भेट हुँदा देखाइने गतिविधिले हाम्रो समाजमा आफ्नैले छुरा हान्ने ययार्थ प्रवृतिलाई चित्रण गरेको उनले बताए।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको चलचित्र घरसँगै परिवार र समाजको कथामा बनेको छ। पुरानो थाकथलोलाई बचाइराख्नुपर्छ। साथै पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिना नमिल्दाको अड्चनलगायतका विषय समेटिएको छ।
चलचित्रको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन्। उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

रुबी सेन सिंहले लगानी गरेको चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। सिनेमा मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ।









प्रतिक्रिया