सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।
आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
चलचित्र ‘रोल नं. १’का सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मीसँगै चलचित्रका मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ । अभावमा पनि छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ ।

पहिलो पोस्टरमा बालकको अनुहारमा देखिएको मन्दमन्द खुसी र पछाडि देखिएको पहाडी भेगको विद्यालयले शिक्षा र ग्रामीण जीवनको कथा सिनेमाले उठान गर्ने प्रस्ट पारेको छ, जुन सिनेमाको टाइटलले पनि बताइसकेको छ ।
उक्त पोस्टरमा बालकको अनुहारमा निर्दोष मुस्कान छ । उसले स्वीटर र सर्ट लगाएर झोला बोकेको छ, जुन उसको विद्यार्थी परिचय हो । ऊ परिवारको आशाको केन्द्रविन्दु हो भन्ने कुरा यसले प्रस्ट पार्छ । बालकको पछाडि रहेकी आमाले थाप्लोमा कालो कराइ राखेकी छिन् र बुबाले दमाहा बाजा भिरेका छन् । पृष्ठभूमिमा एउटा पहाडी सरकारी विद्यालयको भवन देखिन्छ । टाढा रहेको विद्यालयले शिक्षासम्मको पहुँच अझै पनि ग्रामीण जनताका लागि पहुँच बाहिर रहेको संकेत गर्छ । आमा–बुबाको मैलो लुगा र अनुहारले उनीहरू दिनभर श्रम गरेर छोराको ‘रोल नं १’ को सपना साकार पार्न लागिपरेका छन् भन्ने बुझाउँछ ।
अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । जहाँ, बालकको टाउकोमुनि र उसको बुवाको टाउको माथि कपी छ । यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ । पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ । यो कपीले बालकको सपना र बुबाको जिम्मेवारीलाई जोडेको छ ।

बुबाको पिठ्युँलाई यहाँ केवल शारीरिक सहाराका रूपमा मात्र होइन, बालकको भविष्यको आधारशिलाका रूपमा प्रस्तुत गरिएको छ । बुबाको थकित अनुहार र आँखामा देखिएको संघर्षले सन्तानलाई पढाउन एक अभिभावकले गर्ने त्यागलाई झल्काउँछ । बाको आँखामा थकाइ र केही हदसम्म डर देखिन्छ । आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्न सक्छु कि सक्दिन भन्ने चिन्ता बुबाको आंखामा देखिन्छ । तर, बालकको शान्त मुद्राले बुबाप्रतिको पूर्ण भरोसालाई दर्शाउँछ ।
चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ । नेपालका आम गाउँका विद्यार्थीहरूको साझा भोगाइ हो भन्ने दाबी गर्छ ।
चलचित्रको शीर्षक ‘रोल नं १’ ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१’ अंक हासिल गर्न एउटा निम्मवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ ।
गत वर्ष सार्वजनिक गरिएको चलचित्रको फर्स्टलुक पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले पनि धेरैको ध्यान खिचेको थियो । बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्ण बहादुरको सारङ्गी’को टिमले बनाएको सिनेमा भएकाले र पोस्टरमा देखिएको ‘इमोसनल टोन’ले दर्शकलाई चलचित्रप्रति भावनात्मक रूपमा पहिल्यै जोड्ने निश्चित छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।




प्रतिक्रिया