सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्टसले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर रहेको छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ ।

उक्त गीतमा शब्द, सङ्गीत जयन जे वाइवा रहेको छ । पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछी निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । ‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माण पक्षले केक काट्दै खुसियाली समेत साटेको छ ।सार्वजनिक गरिएको दस्रो गीत ‘मिठो संसार’ मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।

चलचित्रका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।’

चलचित्र ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com