सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ ।

सन्तानका लागि आमा–बुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो गीतको मुख्य सन्देश रहेको छ । आफ्नो भाग्य समेत नकोरी सन्तानका लागि त्याग र संघर्ष गर्ने आमा–बुबाको महानता तथा मायालाई केन्द्रमा राखेको गीतले सिनेमाको सेन्ट्रल पोइन्ट के हो भन्ने बताएको छ ।

सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले सिनेमाले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ । गीतले यो सिनेमाले आम नेपाली ग्रामीण समुदायका गरिब परिवारको कथा भन्ने संकेत गरेको छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । भिडियोमो सिनेमाका फुटेज खेलाइएको छ ।

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com