सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ ।‘गौँथली’ को सफलतासँगै अभिनेता अरुण क्षेत्रीको चर्चा चुलिएको छ । डेब्यु फिल्म ‘महापुरूष’ बाटै सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको अरुण पात्रलाई जीवन्त बनाउन सक्ने चकलेटी अभिनेता हुन् । उनका फिल्मले व्यवसायिक सफलता नपाएपनि कामले भने चर्चा पाएको छ। यिनै अरुण पछिल्लो समय मेकरको रोजाईमा परेका छन् ।
बक्सअफिसमा सफलताको नयाँ रेकर्ड बनाएका अरुणलाई आफ्नो फिल्ममा लिन चाहने निर्माता तथा निर्देशकको लामै सूची छ । उनले हालसम्म मिलन चाम्सको निर्देशनमा बन्ने दुई फिल्मका लागि सम्झौता गरिसकेका छन् । उक्त दुवै फिल्ममा अरुणले अभिनेता हरिवंश आचार्यको भूमिका निर्वाह गर्नेछन् । त्यस बाहेक अरुणले अनन्या फिल्मस् प्रालिको ब्यानरमा फिल्म ‘लोकल हिरो’ काम गर्ने मनसाय बनाएका छन् ।
स्रोतका अनुसार अरुणलाई ‘लोकल हिरो’ नभई अन्य टाइटलमा बन्ने फिल्मका लागि कुराकानी गरिएको थियो । यद्यपि आपसी छलफल पश्चात उनलाई ‘लोकल हिरो’ मा काम गर्ने छलफल अगाडि बढाईएको हो । स्रोतलाई आधार मान्ने हो भने अरुणले मौखिक सहमति दिएता पनि कागजी सम्झौता गरेका छैनन् ।
उक्त फिल्मलाई निर्माता सरोज न्यौपानेले निर्माण गर्दैछन् । अघिल्लो वर्षको सुपरहिट फिल्म ‘जेरी अन टप’ निर्माण गरेको टिमले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो। फिल्म निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन्। अनन्या फिल्मस् प्रालिको ब्यानरमा ‘लोकल हिरो’सँगै ‘जेरी : द लास्ट क्लाइम्ब’, ‘गुड लक जेरी’ र ‘टिका’ लगायतका फिल्म पाइपलाइनमा रहेका छन्।










प्रतिक्रिया