सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन्। अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि नाजिर मुख्य भूमिकामा फिल्ममा जोडिएका हुन्। नाजिर र निर्देशक सौरभबीच यो दोस्रो सहकार्य हो। यसअघि सौरभकै निर्देशनमा बनेको फिल्म ‘अगस्त्य’मा नाजिरले अभिनय गरेका थिए।
नाजिरलाई भर्सटाइल अभिनेता भन्दै निर्देशक सौरभले अब्बल कलाकारको टोली बनाउने क्रममा उनलाई फिल्ममा अनुबन्ध गरिएको बताए। उनका अनुसार सौगात र दयाहाङसँगै नाजिरलाई पनि फिल्मको मुख्य भूमिकामा देख्न सकिनेछ। सौगात, दयाहाङ र नाजिरपछि अन्य चर्चित कलाकार पनि फिल्ममा जोडिने क्रम जारी रहेको निर्देशक चौधरीले जानकारी दिए। कलाकारको लाइनअपले फिल्म मल्टिस्टार बन्ने संकेत गरेको छ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ हुनेछ। सौरभले यसपटक आफ्नो अघिल्ला फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म निर्माण गर्ने तयारी गरेका छन्। निर्माणपक्षले फिल्मलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने दाबी गरेको छ।
फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।
मानकृष्ण महर्जनको डीओपी रहने फिल्ममा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन वितरकका रूपमा जोडिएका छन्।










प्रतिक्रिया