सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स नेपाल–२०२६) शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकहरूको सहभागितामा सम्पन्न समारोहमा फिल्म ‘ऊनको स्विटर’ले सर्वाधिक नौ विधामा अवार्ड जित्दै आफ्नो दबदबा कायम गरेको छ।

इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानलाई जुरी प्यानलका हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापाले इन्फा अवार्ड्स–२०२६ को शिलबन्दी नतिजा हस्तान्तरण गरेपछि समारोह औपचारिक रूपमा अघि बढेको थियो। समारोहमा नेपाली फिल्म क्षेत्रका अधिकांश लोकप्रिय कलाकार तथा फिल्मकर्मीको उपस्थिति थियो।

राष्ट्रिय गानको सामूहिक प्रस्तुतिपछि दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिएको थियो। त्यसपछि सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित अवार्ड वितरण सुरु गरिएको थियो।

अघिल्ला दुई संस्करण बेलायतमा आयोजना गरेको इन्फा अवार्ड्सको तेस्रो संस्करण काठमाडौंमा आयोजना गरिएको हो। यस वर्ष नवीन चौहान निर्देशित ‘ऊनको स्विटर’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पार्श्व गायिका, उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट गीतकार, उत्कृष्ट पटकथा र संगीततर्फ गरी नौ विधामा अवार्ड जितेको छ।

‘ऊनको स्विटर’ले अभिनय, निर्देशन, गायन, संगीत तथा लेखनका महत्वपूर्ण विधामा अवार्ड जित्दै समारोहमा आफ्नो प्रभाव कायम गरेको हो। फिल्मबाट विपिन कार्की र मिरुना मगरले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जित्दा नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे। त्यस्तै झुमा लिम्बु, सुजन चापागाईं र हर्क साउदले क्रमशः पार्श्व गायिका, पार्श्व गायक र गीतकारको अवार्ड जिते।

इन्फा अवार्ड्स २०२६ मा उत्कृष्ट अभिनेता विधामा नीर शाह र विपिन कार्की संयुक्त विजेता बनेका छन्। ‘परान’ बाट नीर शाह र ‘ऊनको स्विटर’ बाट विपिन कार्कीले उक्त अवार्ड जितेका हुन्। उक्त अवार्डको घोषणा अभिनेता राजेश हमालले गरेका थिए। अभिनयका धुरन्धर मानिने नीर शाह, विपिन कार्की र राजेश हमाल एकैपटक मञ्चमा देखिँदा समारोहमा उपस्थित दर्शक तथा फिल्मकर्मीको ध्यान तानेको थियो।

‘ऊनको स्विटर’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्। फिल्ममा उनको अभिनयलाई दर्शक तथा समीक्षकले रुचाएका थिए। उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड ‘श्री बुकुरो’ बाट लक्ष्मी गिरीले जितिन्। त्यस्तै ‘हर्ष’ बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता घोषित भए। ‘राम नाम सत्य’ बाट श्री श्रेष्ठले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जिते। फिल्मका द्वन्द्व तथा एक्सन दृश्यलाई प्रभावकारी रूपमा प्रस्तुत गरेबापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

‘द ब्लू लाइट’ बाट श्रृष्टि श्रेष्ठ उत्कृष्ट खलपात्र घोषित भइन्। फिल्ममा उनले निर्वाह गरेको भूमिकालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन्। प्राविधिक विधामा ‘जेरीः अन टप’ ले उल्लेखनीय सफलता हासिल गरेको छ । फिल्मबाट निमेष रेग्मी उत्कृष्ट छायाकार र निमेष श्रेष्ठ उत्कृष्ट सम्पादक घोषित भए। त्यस्तै यही फिल्मबाट आँचल शर्मा उत्कृष्ट सह-अभिनेत्री घोषित भइन्।

‘अभिमन्यू’ बाट प्रकाश दाहालले उत्कृष्ट सह–अभिनेताको अवार्ड जिते। नव–अभिनेता र नव–अभिनेत्रीमा विमोचन दवाडी र श्यामश्री शेर्पा नयाँ पुस्तातर्फ ‘माइतीघर’ बाट श्यामश्री शेर्पा उत्कृष्ट नव–अभिनेत्री घोषित भइन्। ‘झरीपछिको इन्द्रेणी’ बाट विमोचन दवाडी उत्कृष्ट नव–अभिनेता बने। ‘द ब्लू लाइट’ बाट मोहक श्रेष्ठले उत्कृष्ट पार्श्व संगीतको अवार्ड जिते। ‘मोहर’ को ‘चाहिँदैन मोहर’ गीतका लागि रामजी लामिछाने उत्कृष्ट नृत्य निर्देशक घोषित भए।

जुरी अवार्डतर्फ ‘सिटामोल’ का अभिनेता सौगात मल्ल, ‘रमिताको पिरती’ की निर्देशक सुदीप्ता अधिकारी र ‘गुन्यु चोलो’ की निर्देशक समुद्र भट्ट पुरस्कृत भए।यसैगरी कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट सफलता हासिल गरेको नेपाली फिल्म ‘एलिफेन्टस इन द फग’ लाई विशेष सम्मान प्रदान गरिएको थियो।

समारोहको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद राशिसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक टंक भट्टराईलगायतले श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान प्रदान गरेका थिए। उक्त अवार्डलाई ओमेगा इनकर्पोरेशन्सले प्रायोजन गरेको हो।

अभिनेत्री कविता नेपाललाई ‘पर्फमर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो। अभिनेत्री उषा उप्रेतीले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरिन्। त्यस्तै जसिता गुरुङले ‘जेरीः अन टप’ बाट लोकप्रिय अभिनेत्रीको अवार्ड जित्दा पल शाह लोकप्रिय अभिनेता घोषित भए। सन्दीप क्षेत्री र ओशिन सिटौलाले सञ्चालन गरेको समारोहमा सांगीतिक प्रस्तुति, नृत्य तथा हास्यव्यङ्ग्यले मनोरञ्जन थपेको थियो।

विशेषगरी कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले वरिष्ठ अभिनेता नीर शाहकै अगाडि उनकै भेषभूषामा प्रस्तुत गरेको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो। ‘कमेडी दरबार’का कलाकारहरूको प्रस्तुति पनि दर्शकले रुचाएका थिए।

समारोहमा दीया मास्के, पल शाह, कविता नेपाल, उषा उप्रेती, तेरिया मगर, एलिशा शर्मा, समर्पणलगायत कलाकारले विभिन्न प्रस्तुति दिएका थिए। संगीतकर्मी बाबुल गिरी र रिहानको सांगीतिक प्रस्तुतिले पनि दर्शकको ध्यान खिचेको थियो।

इन्फा अवार्ड्सले नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकको सिर्जनात्मक योगदानलाई सम्मान गर्दै नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारमा समेत जोड दिँदै आएको आयोजकले जनाएको छ।

समारोहको अन्त्यमा इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक पाल्देन लामाले उपस्थित कलाकार, दर्शक तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। नेपालमा पहिलोपटक आयोजना गरिएको इन्फा अवार्ड्सलाई भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति उनले आयोजकका तर्फबाट आभार व्यक्त गरे।

इन्फा अवार्ड्स नेपाल–२०२६ का विजेता

१. उत्कृष्ट फिल्म: ‘ऊनको स्विटर’
२. उत्कृष्ट निर्देशक: नवीन चौहान – ‘ऊनको स्विटर’
३. उत्कृष्ट अभिनेता: नीर शाह – ‘परान’, विपिन कार्की – ‘ऊनको स्विटर’
४. उत्कृष्ट अभिनेत्री: मिरुना मगर – ‘ऊनको स्विटर’
५. उत्कृष्ट चरित्र अभिनेत्री: लक्ष्मी गिरी – ‘श्री बुकुरो’
६. उत्कृष्ट चरित्र अभिनेता: सन्तोष पन्त – ‘हर्ष’
७. उत्कृष्ट द्वन्द्व निर्देशक: श्री श्रेष्ठ – ‘राम नाम सत्य’
८. उत्कृष्ट खलपात्र: श्रृष्टि श्रेष्ठ – ‘द ब्लू लाइट’
९. उत्कृष्ट छायाकार: निमेष रेग्मी – ‘जेरीः अन टप’
१०. उत्कृष्ट सह–अभिनेता: प्रकाश दाहाल – ‘अभिमन्यू’
११. उत्कृष्ट सह–अभिनेत्री: आँचल शर्मा – ‘जेरीः अन टप’
१२. उत्कृष्ट पार्श्व संगीत: मोहक श्रेष्ठ – ‘द ब्लू लाइट’
१३. उत्कृष्ट नव–अभिनेत्री: श्यामश्री शेर्पा – ‘माइतीघर’
१४. उत्कृष्ट नव–अभिनेता: विमोचन दवाडी – ‘झरीपछिको इन्द्रेणी’
१५. उत्कृष्ट पार्श्व गायिका: झुमा लिम्बु – ‘ऊनको स्विटर’ (‘काफ्ले’)
१६. उत्कृष्ट पार्श्व गायक: सुजन चापागाईं – ‘ऊनको स्विटर’ (‘फूलहरू’)
१७. उत्कृष्ट गीतकार: हर्क साउद – ‘ऊनको स्विटर’ (‘फूलहरू’)
१८. उत्कृष्ट पटकथा: नवीन चौहान र सुरज – ‘ऊनको स्विटर’
१९. उत्कृष्ट सम्पादन: निमेष श्रेष्ठ – ‘जेरीः अन टप’
२०. उत्कृष्ट नृत्य निर्देशक: रामजी लामिछाने – ‘मोहर’ (‘चाहिँदैन मोहर’)

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com