सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विसं २०८२ सालको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स)को मञ्चबाट फिल्मको सिक्वेल निर्माणको औपचारिक घोषणा गरिएको हो । सिक्वेलको नाम ‘कलेजी : ऊनको स्वीटर’ राखिएको छ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी दसैँपछि सुरु हुनेछ भने सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत ‘ऊनको स्वीटर’को संसार नयाँ कथा र नयाँ यात्रासहित फर्किन लागेको बताएका छन्। उनका अनुसार सिक्वेलमा चर्चित भारतीय लेखक तथा अभिनेता पियूष मिश्रा पनि प्रमुख भूमिकामा देखिनेछन्। चौहानले दर्शकको अत्यधिक माग र अघिल्लो फिल्मको अधुरो कथालाई निरन्तरता दिन सिक्वेल निर्माण गर्न लागिएको बताए। उनका अनुसार धेरै दर्शकले फिल्मको कथा पूरा हेर्न चाहेको आग्रह गरेपछि सिक्वेल निर्माणको निर्णय गरिएको हो।
‘कलेजी–ऊनको स्वीटर’ मा अघिल्लो फिल्मकै प्रमुख जोडी विपिन कार्की र मिरुना मगर दोहोरिने भएका छन्। विपिनले धरणीधर र मिरुनाले फूलको भूमिका पुनः निर्वाह गर्नेछन्। उनीहरूसँगै एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख भूमिका रहनेछ।
फिल्ममा पियूष मिश्राको प्रवेशलाई निर्माण पक्षले विशेष रूपमा प्रस्तुत गरेको छ। निर्देशक चौहानका अनुसार लामो समय लगाएर पटकथा पढेपछि तथा ‘ऊनको स्वीटर’ हेरेपछि मिश्राले फिल्ममा काम गर्न सहमति जनाएका हुन्। अभिषेक सुवेदीको सह-लेखन तथा नवीन चौहानको लेखन र निर्देशनमा बन्ने फिल्मको प्राविधिक तथा अन्य टिम भने चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। फिल्ममा नेपाल र भारतका प्राविधिकको सहभागिता रहनेछ ।
निर्देशक चौहानका अनुसार ‘कलेजी–ऊनको स्वीटर’ मा धरणीधर र फूलको अधुरो प्रेमकथालाई निरन्तरता दिइनेछ। उनीहरूको नयाँ यात्रा सिक्किमबाट सुरु हुने बताइएको छ। ‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै फिल्म निर्माण गरिने निर्देशक चौहानको भनाइ छ।










प्रतिक्रिया