सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चर्चित कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले काठमाडौंको अनामनगरमा सञ्चालनमा ल्याएको ‘फ्लिप एन्ड इट’ क्याफेको औपचारिक उद्घाटन गरेकी छन् । इस्टुले आफ्नी ८० वर्षीया हजुरआमाको हातबाट केक काटेर क्याफेको उद्घाटन गराएकी हुन् । उद्घाटन कार्यक्रममा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालालगायतको उपस्थिति थियो ।
करिब ४० लाख रुपैयाँभन्दा बढी लगानीमा सुरु गरिएको ‘फ्लिप एन्ड इट’ इस्टुका लागि कन्टेन्ट क्रियसनभन्दा फरक यात्राको सुरुवात हो । व्यवसाय सञ्चालन गर्नु र त्यसै व्यवसायको भिडिओ बनाउनु फरक अनुभव रहेको उनले उद्घाटनका क्रममा बताइन् ।
‘नयाँ सुरुआत भएको छ, यहाँ कफीसँगै केही स्पेसल खाजाहरू हामीले सर्भ गरिरहेका छौँ । नियमित ग्राहक समेत बनिसक्नुभएको छ, प्राप्त फिडब्याक अनुसार हामी अझैँ परिस्कृत हुँदै अगाडि बढ्ने छौँ’, उनले भनिन् ।
कन्टेन्ट क्रियसनमा सक्रिय इस्टुले पछिल्लो तीन वर्षदेखि निरन्तर भिडिओ निर्माण गर्दै आएकी छन् । नयाँ कुरा सिक्ने, बुझ्ने र आफूलाई नयाँ रूपमा विकास गर्ने चाहनाले व्यवसायमा हात हालेको उनले बताइन् । क्याफे उद्घाटनका क्रममा इस्टुकी हजुरआमाले नातिनीको खुलेर प्रशंसा गरिन् । सानैदेखि इस्टुमा हिम्मत र आँट रहेको बताउँदै उनले नातिनीले नयाँ व्यवसाय सुरु गरेकोमा खुसी व्यक्त गरिन् ।
‘हजुरआमासँग म सानैदेखि नजिक छु, मैले हौसला पाएकी छु । त्यसैले आफ्नो महत्वपूर्ण कार्यको सुरुआत उहाँमार्फत गरेकी हुँ’, उनले भनिन् । रङ्गमञ्च पृष्ठभूमिबाट आएकी इस्टु रमाइला भिडिओ, भ्लग तथा सामाजिक सञ्जालका पोस्टमार्फत परिचित छिन्। कन्टेन्ट क्रियटरका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी इस्टुको ‘फ्लिप एन्ड इट’सँगै अब व्यवसायीको परिचय पनि थपिएको छ।










प्रतिक्रिया