सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बाढीपीडितको सहयोगार्थ चलचित्र विकास बोर्डले च्यारिटी शो आयोजना गर्ने भएको छ। बोर्डले बिहीबार आकस्मिक बैठक बसी बाढी तथा पहिरोबाट प्रभावित चलचित्रकर्मीको उद्धार, राहत तथा सहयोगका लागि पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ।

बोर्डका अध्यक्ष दिनेशराज दाहालको अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित चलचित्रकर्मीको तत्काल विवरण सङ्कलन गर्नेदेखि चलचित्र क्षेत्रलाई संगठित रूपमा उद्धार तथा राहत अभियानमा परिचालन गर्नेसम्मका निर्णय गरेको हो। बैठकमा बोर्डका अध्यक्ष दाहालले व्यक्तिगत तर्फबाट आफ्नो आधा महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

बोर्डले गरेका पाँच निर्णय यस्ता छन् :

१. विवरण सङ्कलन : बाढी तथा पहिरोबाट जनधनको क्षति व्यहोरेका चलचित्रकर्मीको वास्तविक विवरण एकीकृत गरी बोर्डमा उपलब्ध गराउन सम्पूर्ण पेसागत संघ–संस्था तथा सरोकारवालालाई अनुरोध गर्ने।

२. राहतको पहल : प्राकृतिक विपत्तिबाट प्रत्यक्ष प्रभावित चलचित्रकर्मीलाई आवश्यक राहत उपलब्ध गराउन ‘चलचित्रकर्मी कल्याणकारी कोष’को अवस्था हेरी आवश्यक पहल गर्ने।

३. च्यारिटी शोको आयोजना : बाढीपीडितको सहयोगार्थ च्यारिटी शो आयोजना गर्न चलचित्रकर्मी संघ–संस्थालाई फिल्म उपलब्ध गराउने र उक्त शोबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने वातावरण मिलाउने।

४. सचेतना र भ्रम निवारण : विपद्को संवेदनशील समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अनावश्यक भ्रम, त्रास तथा तथ्यहीन सूचना फैलिन नदिन चलचित्र क्षेत्रका संघ–संस्थालाई संयमता अपनाउन आग्रह गर्ने।

५. हातेमालो र जनचेतना : उद्धार तथा राहत कार्यमा हातेमालो गर्न चलचित्रकर्मीलाई आह्वान गर्ने तथा विपद् व्यवस्थापन र सुरक्षासम्बन्धी जनचेतनामूलक सामग्री निर्माण गरी प्रचार–प्रसार गर्ने।

बोर्डले विपद्को समयमा चलचित्र क्षेत्रका सम्पूर्ण संघ–संस्था तथा चलचित्रकर्मीलाई एकजुट भएर प्रभावित नागरिकको उद्धार तथा राहत अभियानमा सहयोग गर्नसमेत आग्रह गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com