सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण वा रसिद सामाजिक सञ्जालमा सार्वजनिक गर्नु सकारात्मक कदम भएको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यसलाई पारदर्शिता र अरूलाई सहयोगका लागि प्रेरित गर्ने माध्यमका रूपमा व्याख्या गरेकी हुन्।

पछिल्लो समय सहयोग गरेको स्क्रिनसट वा रसिद सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिको विरोध भइरहेका बेला अभिनेत्री शर्माले यसको बचाउ गरेकी छन्। मिहिनेत गरेर कमाएको रकम संकटको घडीमा राज्यलाई सहयोग गर्दा त्यसलाई सार्वजनिक गर्न संकोच मान्नु नपर्ने उनको तर्क छ।

‘आफूले जिन्दगीभर मिहिनेत गरेर कमाएको पसिनाको पैसा राज्यलाई आपत् पर्दा दिएको भनेर देखाउँदा केही हुँदैन, गर्व गर्नुस्,’ शर्माले लेखेकी छन्, ‘सामाजिक सञ्जालमा हाल्नु घमन्ड होइन, अरूलाई जगाउनु हो। पारदर्शिता र प्रेरणा पनि यही हो।’

एउटा नयाँ लुगा किन्दा पटक-पटक तस्बिर पोस्ट गर्ने समाजमा देश र नागरिक संकटमा पर्दा गरिएको सहयोगलाई लुकाउन आवश्यक नरहेको उनको धारणा छ। उनी थप्छिन्, ‘तपाईंको एउटा पोस्टले सुतेका सय जनालाई राहत दिन बाध्य बनाउँछ। तपाईंको एउटा रसिदले अरू सयौं हातहरू सहयोगका लागि अघि बढाउनेछ।’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com