सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नुवाकोट, रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपद्को यस कठिन अवस्थामा कलाकारहरूले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन्।

यसैबीच, सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया पुगेकी गायिका एलिना चौहानले शनिबार सामाजिक सञ्जालमार्फत आफू सहभागी भएको कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपाल पठाउने घोषणा गरेकी छन्।

उनले लेखेकी छन्, ‘हामीले व्यक्तिगत रूपमा आफ्नो हैसियतअनुसार धेरै ठूलो सहयोग गर्न नसकौँला, तर हामीले गर्ने हरेक शोबाट उठेको सम्पूर्ण रकम नेपाल पठाउन सक्यौँ भने त्यो सहयोग पक्कै ठूलो बन्न सक्छ। आजको ‘म्याकआर्थर नेपाली समुदाय’को कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपाल पठाउँदैछौँ।’

दुःखमा परेको देश र आफ्ना मानिसलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एलिनाले बताएकी छन्। उनले कार्यक्रमको नाम नै ‘तीज फर नेपाल’ राखिएको जानकारी दिँदै सहयोगका लागि हुने कार्यक्रमलाई प्राथमिकता दिने बताइन्।

उनले थपेकी छन्, ‘हामीले कार्यक्रमको नाम नै ‘तीज फर नेपाल’ राखेर दुःखमा परेको आफ्नो देश र आफ्ना मानिसहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम गरेका हौँ। सहयोगका लागि हुने कार्यक्रमहरूलाई प्राथमिकता दिने हाम्रो सोच छ। हामी अझै सहयोग गर्न चाहन्छौँ, अझै धेरै हातहरू जोड्न चाहन्छौँ।’

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com