सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको ‘पलेँटी’ सेप्टेम्बरको अन्तिम सप्ताहन्तमा आयोजना हुने भएको छ। हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुँदै आएको ‘पलेँटी’मा यसपटक गीतकार तथा अभिनेता नीर शाहका रचना प्रस्तुत गरिने भएको हो।

भोटेकोशी बाढीबाट उत्पन्न शोकका कारण गत महिना स्थगित गरिएको कार्यक्रम यही सेप्टेम्बर २५ र २६ गते आयोजना हुने आयोजकले जनाएको छ।कार्यक्रममा नीर शाहद्वारा रचित झण्डै डेढ दर्जन गीत प्रस्तुत गरिनेछन्। ती गीत ‘पलेँटी’का कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले गाउनेछन्।

करिब २२ वर्षदेखि सञ्चालन हुँदै आएको ‘पलेँटी’ लघु साङ्गीतिक कार्यक्रम हो। यसपटक प्रस्तुत हुने नीर शाहका रचनामा नातिकाजी, शम्भुजित बास्कोटा, सीके रसाइली र दीप श्रेष्ठले संगीत भरेका गीत समेटिएका छन्।

नीर शाह लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेता तथा निर्देशक हुन्। अभिनय र निर्देशनसँगै उनको गीति सिर्जनामा पनि महत्वपूर्ण योगदान रहेको छ। उनले गैरफिल्मी तथा फिल्मी दुवै विधाका गीत रचना गरेका छन्।

शाहका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिले काहीँ म हाँस्छु’, ‘गहिराईमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाई देऊ’ र ‘हिउँभन्दा चिसो’ लगायत गीत चर्चित छन्। त्यस्तै, उनले रचना गरेका फिल्मी गीतमा ‘आँखैमा कसैको तस्वीर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’ र ‘यो साँझ यो सुवास’ लगायत गीत रहेका छन्।

आगामी ‘पलेँटी’का लागि भइरहेको पूर्वाभ्यासमा सहभागी भएका शाहले कार्यक्रमप्रति उत्साह व्यक्त गरेका छन्। ‘संगीत नाट्य विधासँग म यसरी नजिक छु कि संगीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ। पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ। गायक–वाद्यवादक सबै प्रतिभासम्पन्न हुनुहुँदो रहेछ। गौरवशाली इतिहास हो यो। उहाँहरूको प्रतिभासँग प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु,’ शाहले भने।

आफ्नो विगतको अनुभव स्मरण गर्दै उनले नारायण गोपालको लाइभ कन्सर्टमा आफूले जिम्मेवारी निर्वाह गरेको प्रसंगसमेत सुनाए। ‘पलेँटी’का संयोजक आभासले संगीतका तीनवटै विधालाई समेट्ने क्रममा यसपटक गीतकार नीर शाहलाई प्रस्तुत गर्न लागिएको बताए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com