सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ — नेपाली चलचित्र ‘रंगी’ का लेखक सुमन गजमेरले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् । ‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड Z को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राख्नेछ ।

प्रेमकथामा आधारित हुने चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत उठान गर्ने निर्देशक गजमेरले बताएका छन् । गजमेरका अनुसार ‘हाम्रो सानो घर’ मार्फत नेपाली दर्शकलाई फरक स्वादको प्रेमकथा प्रस्तुत गर्ने प्रयास गरिनेछ । “यो केवल प्रेमकथा मात्र होइन, नयाँ पुस्ताले समाज र सम्बन्धलाई कसरी हेर्छ भन्ने प्रश्न पनि चलचित्रले उठाउनेछ,” गजमेरले बताए ।

चलचित्र रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुनेछ । निर्माण पक्षका अनुसार यसअघि रे अफ आर्टले चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रसँगै कम्पनीले विभिन्न म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गरिसकेको जनाएको छ । हाल चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । कलाकार तथा प्राविधिक टोली टुंगो लागेपछि चलचित्रको छायांकन सुरु गरिनेछ ।

निर्देशनमा डेब्यु गर्नुअघि गजमेरले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म राइटिङ एन्ड डाइरेक्टिङ विषयमा स्नातक अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरेका छन् ।

लेखनमा समेत सक्रिय गजमेरले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’, ‘भित्ते पात्रो’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरिसकेका छन् । उनले लेखेको “Hello Bro” सिरिजसमेत प्रसारण भइसकेको छ । गजमेरले निर्देशन गरेको लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत छनोट भइसकेको छ । सामाजिक यथार्थ, ग्रामीण जीवन, प्रेम, परिवार, बसाइँसराइ, वर्ग तथा जातीय विभेद र युवा पुस्ताका आकांक्षालाई कथाको केन्द्रमा राख्दै आएका गजमेरले ‘हाम्रो सानो घर’ मार्फत अब निर्देशकका रूपमा आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com