सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भुटानी, नेपाली र हिन्दी भाषामा तयार भएको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता प्रदीप खड्का क्रियटिभ प्रोड्युसर रहेको फिल्मको एक मिनेट लामो टिजरमा टनेलभित्र जोम्बी बनेका मानिस र उनीहरूबाट जोगिन पात्रहरूले गर्ने संघर्षलाई प्रस्तुत गरिएको छ ।

टिजरमा नेपाली कलाकार अनुपविक्रम शाही र आना शर्मासहित भुटानी अभिनेता साङ्गे सेल्ट्रिम देखिएका छन् । अनुप र साङ्गे जोम्बी बनेका मानिससँग टनेलभित्र संघर्ष गरिरहेको देखिन्छ भने आना भने कुनै रणनीति बनाइरहेको अवस्थामा प्रस्तुत भएकी छन्। जोम्बीका डरलाग्दा दृश्य, टनेलभित्रको त्रास र प्रभावशाली ब्याकग्राउन्ड स्कोरले टिजरलाई थप रोमाञ्चक बनाएको छ।

डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माण रहेको फिल्ममा साङ्गे, अनुप र आनासहित रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काज, छेकी डब्ल्यू वाङ्दीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा प्रदीप खड्काको पनि अभिनय छ।

डीडी किन्लेले लेखन तथा निर्देशन गरेको फिल्ममा सम्पादनको जिम्मेवारी पनि उनले नै सम्हालेका छन्। नेपालका दीर्घ गुरुङ र भुटानका साङ्गे टी. तेन्जिङले फिल्मको छायांकन गरेका हुन्।

फिल्मलाई आगामी अक्टोबर अर्थात् असोज–कात्तिकमा नेपाल, भारत र भुटानमा एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ। निर्माणपक्षका अनुसार फिल्मको पोस्ट–प्रोडक्सनको काम विगत ६ महिनादेखि थाइल्यान्डमा भइरहेको छ ।

चौधरी ग्रुपका निर्वाण चौधरी, नेपाली अभिनेता प्रदीप खड्का, भारतीय फिल्म निर्माता प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता साङ्गे सेल्ट्रिमको सहकार्यमा फिल्म ‘टनेल २६’ को निर्माण भएको हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com