सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेर नेपालमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिनीहरू : इलिफेन्ट इन द फग’को टोलीले काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिएको छ। टोलीले कार्यक्रमको सुरुवात फिल्ममा समावेश गीत ‘शादी के दिन में (ला ला ला ला)’मा नृत्य प्रस्तुत गर्दै गरेको थियो। त्यसपछि टोली एनआईयूको स्टलमा पुगेको थियो, जहाँ उनीहरूले फिल्मकै ‘बलम’ गीतमा नृत्य प्रस्तुत गरे।

टोलीको प्रस्तुतिमा दर्शकहरू उत्साहित हुँदै सहभागी भएका थिए। उपस्थित दर्शकले फिल्मबारे चासो राख्दै फिल्म हेर्न हलसम्म जाने बताएका थिए। त्यसपछि टोलीले महिन्द्राको स्टलमा समेत विशेष प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

‘तिनीहरू : इलिफेन्ट इन द फग’ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म हो। उक्त विधामा छनोट भएपछि फिल्मले जुरी अवार्डसमेत जित्दै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक पहिचान दिलाएको थियो।

यसैबीच, फिल्मको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा समेत सहभागी भएको छ। कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार र सम्मान प्रदान गरेको थियो। कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा फिल्मको टोलीले सहभागी कलाकारहरूको प्रतिभाको सम्मान गर्दै उनीहरूको हौसला बढाएको थियो। उक्त कार्यक्रममा ‘तिनीहरू : इलिफेन्ट इन द फग’ मुभी पार्टनरसमेत रहेको थियो।

यसैगरी, फिल्मको टोलीलाई तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)–२०२६ मा विशेष सम्मान गरिएको छ। काठमाडौंमा आयोजित समारोहमा नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउँदै नेपालको नाम गौरवान्वित बनाएको भन्दै टोलीलाई सम्मान गरिएको हो।

सोही अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले फिल्मको प्रशंसा गर्दै कान्समा भएको फिल्मको विश्व प्रिमियरमा आफू सहभागी भएको अनुभव सुनाइन्। उनले कान्समा फिल्मले पाएको आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ स्मरण गर्दै नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो उपलब्धि गौरवको विषय भएको बताइन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com