सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक फिल्म ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’को युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन संघर्ष, पीडा र गाउँलेको हेपाइलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। भारी बोकेर जीविकोपार्जन गर्दै आएका कार्की साइँलालाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट गर्छन्। यही अठोटलाई टिजरले कथाको मुख्य केन्द्रमा राखेको छ।
टिजरमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायत कलाकारलाई देख्न सकिन्छ। राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथामा तयार भएको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले लेखेका हुन्। बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।
दीप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
सिबी भण्डारीले प्रोडक्सन व्यवस्थापन तथा रबी केसीले शृङ्गारको जिम्मेवारी सम्हालेका छन्। फिल्मको पोस्ट प्रोडक्सन ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ। मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मको वितरणको जिम्मेवारी कुबेर फिल्म्सले लिएको छ।










प्रतिक्रिया