सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले साउन ३१ गतेसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको छ।

उक्त अवधिसम्म फिल्मका ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन् । ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ। यसले ‘कबड्डी ४’को २१ करोड ४० लाख रुपैयाँको घरेलु बक्स अफिस रेकर्डलाई उछिनेको हो। अब सर्वाधिक कमाउने नेपाली फिल्मको शीर्ष स्थानमा रहेको ‘पूर्णबहादुरको सारङ्गी’लाई उछिन्न ‘गौँथली’ले थप २३ करोडभन्दा बढी कमाउनुपर्नेछ। ‘पूर्णबहादुरको सारङ्गी’को कुल ग्रस कमाइ ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ रहेको छ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

यसैबीच, बोर्डले साउन २२ गतेदेखि प्रदर्शनमा आएका फिल्म ‘हली’ र ‘कमला मिस’को बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ। विवरणअनुसार ‘हली’ले ७ हजार ७१० वटा टिकट बिक्री गर्दै २१ लाख ७७ हजार ६० रुपैयाँ ग्रस कमाएको छ। त्यस्तै, ‘कमला मिस’ले ७१८ वटा टिकट बिक्रीबाट २ लाख ६१ हजार ८४५ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com